
फ्रान्स विश्वकप फुटबल २०२२ को प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘डी’ मा रहेको फ्रान्सले आफ्नो दोस्रो खेलमा डेनमार्कलाई २–१ गोलले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो ।
फ्रान्सको जितमा केलियन एमबाप्पेले दुवै गोल गरे । यता, डेनमार्कका लागि एन्ड्रियास क्रिस्टेन्सेनले गोल फर्काए ।
कतारको स्टेडियम ९७४ मा फ्रान्स र डेनमार्क दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । खेलको ६१औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका छन् । तर खेलको ६८औँ मिनेटमा डेनमार्कले गोल फर्काउँदै १–१ गोलको बराबरी बनाएको छ । डेनमार्कका एन्ड्रियास क्रिस्टेन्सेनले गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काए ।
खेलको ८६औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ गोलको जित दिलाएका हुन् ।
यसअघि फ्रान्सले आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलअन्तरले पराजित गरेको थियो । यता, डेनमार्कले टयुनिसियासँग गोलरहित बराबरी खेलेको थियो । यो जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक बनाएर विश्वकपको नकआउट चरणमा प्रवशे गरेको हो ।