नेयमार घाइते हुँदा ब्राजिललाई कति घाटा ?
नेयमार घाइते हुँदा ब्राजिललाई कति घाटा ?

कतारमा जारी विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा नै नेयमार घाइते भएका छन् । ब्राजिलका मुख्य खेलाडी घाइते भएपछि टिम तनाबमा छ ।

समूह ‘जी’ मा रहेको ब्राजिलले सर्वियासँग २–० गोलको जित निकाल्यो । तर यो खेलमा मुख्य खेलाडी नेयमार भने घाइते बने । सुरुमा उनको चोट सामान्य भएको प्रतिक्रिया दिएपनि उनले समूह चरणका दुई खेल गुमाउने भएका छन् ।

८०औं मिनेटमा नेयमारलाई निकाल्दै उनको स्थानमा एन्टोनीलाई मैदानमा प्रवेश गराएको थियो । नेयमारको दाया खुट्टामा चोट लागेको छ । उनको खुट्टा सुन्निएको छ । ब्राजिलका चिकित्सक रोड्रिगोल लास्मारले सुरुमा नेयमारलाई ठूलो चोट नलागेको बताएपनि पछि भने समूह चरणको खेल गुमाउने बताएका हुन् ।

नेयमार घाइते भएसँगै ब्राजिललाई ठूलो झड्का लागेको छ ।यता, ब्राजिलका ड्यानिलोले पनि समूह चरणकै दुई वटा खेल गुमाउने छन् ।

ब्राजिलले मंसिर १२ गते स्वीट्जरल्यान्ड आफ्नो दोस्रो खेल खेल्दैछ । त्यस्तै, ब्राजिलले समूह चरणको अन्तिम खेल क्यामरुनसँग खेल्नेछ । ब्राजिलको टिममा जब नेयमार हुँदैनन् स्वभाविक रुपमा टिमका खेलाडीलाई दबाब हुने गरेको छ । यसअघि सन् २०१४ को विश्वकप फुटबलको सेमिफाइनलमा घरेलु मैदानमै ब्राजिल जर्मनीसँग ७–१ हारेको थियो । त्यो खेलमा नेयमार घाइते भएर मैदान बाहिर थिए ।

प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा