घानाविरुद्ध पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमानी गोल
घानाविरुद्ध पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमानी गोल

पोर्चुगलले विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा घानाविरुद्ध ३–२ गोलको जित निकालेको छ ।

पोर्चुगलका लागि कप्तान क्रिस्टियोनो रोनाल्डो, जोआओ फेलिक्स र राफेएल लिआओले गोल गरे । यता, घानाका लागि कप्तान एन्ड्रे आयु र ओस्मान बुकारीले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा उत्कष्ट प्रदर्शन गर्दै तीन गोल गर्दा दुई गोल खान पुग्यो । खेलको ५५औँ मिनेटमा घानाका कुडुस मोहम्मदले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको ६२औँ मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । कप्तान क्रिस्टियानो रोनाल्डोलाई डिबक्सभित्र लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट रोनाल्डोले गोल गर्दै पोर्चुगललाई १–० गोलको अग्रता दिलाए । यो गोलसँगै रोनाल्डोले विश्व कीर्तिमान पनि बनाए । लगातार पाँचौँ विश्वकपमा गोल गर्दै रोनाल्डोले कीर्तिमान बनाएका हुन् ।

यसअघि रोनाल्डोले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए । घानाविरुद्धको गोलसँगै रोनाल्डोले विश्वकपमा गोल संख्या आठ पुर्‍याएका छन् ।

खेलको ७३औँ मिनेटमा घानाका कप्तान एन्ड्रे आयुले गोल गर्दै १–१ गोलको बराबरी दिलाए । खेलको ७८औँ मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ गोलको अग्रता दिलाए । खेलको ८०औँ मिनेटमा राफेएलले गोल गर्दै पोर्चुगललाई ३–१ को अग्रता दिलाए । तर खेलको ८९औँ मिनेटमा ओस्मान बुकारीले गोल गर्दै घानालाई ३–२ गोलको स्थितिमा ल्याएपनि जित दिलाउन भने सकेनन् ।

यो जितसँगै पोर्चुगलले महत्त्वपूर्ण तीन अंक बटुलेको छ ।

प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९  २३:३९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा