कोस्टारिकाको पोष्टमा स्पेनको सात गोल
कोस्टारिकाको पोष्टमा स्पेनको सात गोल

स्पेनले कतारमा जारी विश्वकप फुटबलमा कोस्टारिकाविरुद्ध फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकाविरुद्ध ७–० गोलको जित निकालेको हो ।

कतारको अल थुमामा रंगशालामा भएको खेलमा स्पेनले कोस्टारिकाको पोष्टमा आधा दर्जन गोल गरेको हो । पहिलो हाफमा तीन गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप चार गोल गर्दै जित निकालेको हो । स्पेनको जितमा फेरान टोरेसले दुई गोल गरे । त्यस्तै, ड्यानी ओल्मो, मार्को एसेन्सियो, काभी, कार्लोस सोलर र अल्भारो मोरटाले गोल गरे ।

खेलको ११औँ मिनेटमा स्पेनले गोल गर्दै कोस्टारिकाविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । स्पेनका लागि ड्यानी ओल्मोले गोल गरेका थिए । खेलको २१औँ मिनेटमा स्पेनले दोस्रो गोल थप्यो । स्पेनका लागि मार्को एसेन्सियोले गोल गर्दै स्पेनलाई २–० गोलको अग्रता दिलाए । यो अग्रतासँगै कोस्टारिका थप दबाबमा आएको थियो ।

खेलको ३१औँ मिनेटमा स्पेनले पेनाल्टी पायो । फेरान टोरेसले पेनाल्टीबाट गोल गर्दै स्पेनलाई ३–० गोलको अग्रता दिलाएका हुन् । तुलनात्मक कमजोर मानिएको कोस्टारिकाले पहिलो हाफमा राम्रो खेल्न सकेन ।

समूह ‘ई’ मा रहेको स्पेनले कोस्टारिकालाई गोलको वर्षा नै गर्यो । खेलको ५३औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४–० गोलको अग्रता दिलाए । खेल एकलौटी स्पेनको पकडमा थियो । एकपछि अर्को आक्रमक खेलेको स्पेनका लागि गाभीले ७४ र कार्लोस सोलरले ९०औँ मिनेटमा गोल गर्दै ६–० गोलको अग्रता दिलाए । खेलको अतिरिक्त समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७–० गोलको फराकिलो जित दिलाए ।

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  २३:४३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा