जापानसँग जर्मनी २–१ गोलले स्तब्ध
जापानसँग जर्मनी २–१ गोलले स्तब्ध

चार पटकको विश्वकप विजेता जर्मनी विश्वकप फुटबल २०२२ मा जापानसँग पराजित भएको छ । जापानले जर्मनीलाई २–१ गोलले पराजित गरेको हो ।

पहिलो हाफमा १–० गोलले पछि परेको जापानले दोस्रो हाफमा उत्कृष्ट खेल्दै जित निकाल्यो । जापनका रित्सु डोओनले खेलको ७५औँ मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी बनाए ।

ताकुमा असानोले खेलको ८३औँ मिनेटमा गोल गर्दै जापानलाई २–१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा जर्मनीले गोल फर्काउन नसकेपछि जापानले रोमाञ्चक जित निकालेको हो ।

यसअघि एसियाली राष्ट्र जापानविरुद्ध जर्मनीले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको आठौँ मिनेटमा जापानका डाइजेन माएडाले गोल गरे । तर अफसाइड भएको कारण उनको गोलले मान्यता पाएन । खेलको १७औँ मिनेटमा एन्टोनियो रुडिगरले कर्नरबाट आएको बललाई हेड गर्दै गोल गर्ने प्रयास गरे । तर उनले गरेको हेडर बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको २०औँ मिनेटमा डेविड राउमले प्रहार गरेको प्रहार जापानका गोलकिपरले मुस्किलले बचाए । खेलको ३३औँ मिनेटमा जर्मनीका इल्काए गुन्डोगनले पेनाल्टीबाट गोल गर्दै १–० गोलको अग्रता दिलाए । जर्मनीका खेलाडीलाई डिबक्सभित्र जापानका गोलकिपर सुइची गोन्डाले लडाएपछि पेनाल्टी पाएको थियो ।

पहिलो हाफको अन्तिम समयमा जर्मनीका काइ हाभट्र्जले गोल गरे । तर भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले मान्यता दिएन । हाभट्र्जले अफसाइड गोल गरेका थिए । खेलको ६०औँ मिनेटमा गुन्डोगनले प्रहार गरेको बल पोलमा ठोकिएर बाहिरिएको थियो । योसँगै जर्मनीले २–० गोलको अग्रता बनाउनबाट असफल भयो ।

यो अप्रत्यासित हारसँगै जर्मनीले महत्वपूर्ण तीन अंक गुमाएको छ । यता, जापानले भने तीन अंक बटुल्दै विश्वकपको अघिल्लो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा