९७४ कन्टेनरबाट बनेको रंगशाला
९७४ कन्टेनरबाट बनेको रंगशाला

‘स्टेडियम ९७४’ अचम्मको रंगशाला हो । यसको निर्माण अनौठो तरिकाले भएको छ । कतारको दोहामा रहेको स्टेडियम ९७४ फिफा विश्वकप हुने इतिहासकै पहिलो अस्थायी रंगशाला हो ।

सन् २०२१ नोभेम्बर ३० मा उद्घाटन गरिएको यो रंगशालामा विश्वकप २०२२ का सात खेल हुनेछन् । २०२१ मा तयार भएको यो रंगशाला ९७४ रिसाइकल ढुवानी कन्टेनरहरूबाट बनेको छ । यसकारण यो अचम्मको रंगशाला हो । अझ अनौठो कुरा के छ भने विश्वकप सकेपछि यो रंगशाला भत्काइनेछ । विश्वकपकै लागि मात्र यो रंगशालाको निर्माण गरिएको हो ।

आर्किटेक्ट फेनविक रिव्यारेनद्वारा स्टेडियम ९७४ को डिजाइन गरिएको थियो । वाटरफ्रन्ट साइटमा निर्माण गरिएको रंगशाला ४ लाख ५० हजार वर्ग मिटरमा फैलिएको छ । यो रंगशालाको दर्शक क्षमता ४० हजार रहेको छ । अझ रोचक तथ्य त के छ भने कतारको अन्तर्राष्ट्रिय कलिङ कोड ९७४ को सम्मानमा ९७४ वटा रिसाइकल ढुवानी कन्टेनरहरूको प्रयोग गरेर यो रंगशाला निर्माण गरिएको हो ।

प्रयोग भएका केही कन्टेनरहरूमा बाथरुमलगायत दर्शकलाई सहज हुने अरु सुविधा पनि रहेका छन् । रंगशालामा प्रयोग गरिएको ढुवानी कन्टेनर र सिट विश्वकपपछि कतारले भत्काउने छ । यसअघि यो रंगशालाको नाम ‘रास अबु अबाउद’ रहेको थियो । तर, २० नोभेम्बर २०२१ मा एक प्रक्षेपण कार्यक्रम गरी यो रंगशालाको नाम ‘स्टेडियम ९७४’ राखिएको हो ।

प्रकाशित मिति:बुधबार, कात्तिक ३०, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा